Monday, September 11, 2017

प्रगतीको गीत

–राम शरण महर्जन
 कीर्तिपुर
शर्तको लागि बिना शर्त
असहमतिको लागि सहमति
माकुराको बच्चाले खान्छ माउ
देशका नेताले खान्छ नयां पुस्ता
प्रगतीको गीत गाउँदै ।

पाटी बनाउंछ पार्टी चलाउन
मुकुण्डो लाउंछ जनता झुक्याउन
लीसो झैं टाँसिन्छ कुर्सीमा नेता,
सपनामा पौडिने त जनता
प्रगतीको गीत गाउँदै ।

कुरा लाउंदै बनेका परजिवी नेतृत्व
मन पर्दैन भन्न नपाउंने चुनावी मतपत्र
आत्मा बन्धकी राखी फहराउंछ विचारका झण्डा
आस्था र विश्वासमा बांच्नु पर्ने मात्र हामी जनता
प्रगतीको गीत गाउंदै ।

कुकुरको पुच्छर सोझ्याउंने खेल खेल्छ बच्चा
जीवनको आनन्द लुट्ने त्यही हुन्छ कुकुर
छेउ टुप्पो नभेटने काममा रम्दछ मान्छे
समयलाई सराप्दै चित्तामा पुग्दा रुन्छ मान्छे
पछुतोको गीत गाउंदै ।

२०७४।५।२२

No comments:

Post a Comment